काठमाडौं । अर्जेन्टिनाले बेनिनलाई ३–० गोलले पराजित गर्दा कप्तान लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सुखद बिदाइ लिएका छन् ।
आफ्नो अन्तर्राष्ट्रिय करिअरको अन्तिम खेलमा मेस्सीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनाको जितमा निर्णायक योगदान दिए । ३९ वर्षीय मेस्सीको अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट यो २०८औँ तथा अन्तिम खेल थियो ।
खेलको ४८औँ मिनेटमा निकोलास ओटामेन्डीले मेस्सीको कर्नरमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । ५९औँ मिनेटमा मैदान प्रवेश गरेका निको पाजले त्यसको दुई मिनेटपछि मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० बनाए ।
त्यसपछि ७१औँ मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सीले गोल गर्दै टोलीलाई ३–० को जित दिलाए । यही गोल उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल बनेको छ ।
खेलअघि र खेलपछि मेस्सी भावुक देखिएका थिए । आठपटकका बालोन डी’ओर विजेता मेस्सीको सम्मानमा अर्जेन्टिनाले बेनिनविरुद्ध यो खेल आयोजना गरेको बताइएको छ ।
२१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा मेस्सीले अर्जेन्टिनाका लागि २०८ खेल खेल्दै १२६ गोल गरेका छन् ।
मेस्सीले अर्जेन्टिनाको युवा टोलीबाट सन् २००५ मा फिफा विश्व युवा च्याम्पियनसिपको उपाधि जितेका थिए भने सन् २००८ मा ओलम्पिक स्वर्ण पदक जिते ।
सिनियर टोलीबाट उनले २०२१ र २०२४ मा कोपा अमेरिका, २०२२ मा फाइनलिसिमा तथा २०२२ को विश्वकप जितेका छन् । उनको नेतृत्वमा अर्जेन्टिना २०१४ र २०२६ को विश्वकपको फाइनलसम्म पुगेको थियो ।
अर्जेन्टिनाको जर्सीमा अन्तिम खेलमा पनि गोल र असिस्ट गर्दै मेस्सीले आफ्नो अन्तर्राष्ट्रिय यात्राको अविस्मरणीय अन्त्य गरेका छन् ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।