काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारण तथा प्रतिबन्धसम्बन्धी कानूनको उल्लङ्घन गरेको आरोपमा अमेरिकाको दोस्रो ठूलो बैंक ‘बैंक अफ अमेरिका’लाई १ अर्ब २१ करोड अमेरिकी डलर अर्थात् १ खर्ब ८४ अर्ब रुपैयाँभन्दा बढी जरिवाना गरिएको छ।
अमेरिकी अर्थ मन्त्रालयका अनुसार बैंकले ५ अर्ब डलरभन्दा बढी मूल्यका शङ्कास्पद कारोबारबारे सम्बन्धित सरकारी निकायलाई जानकारी गराउन असफल भएको थियो। तीमध्ये करिब १ अर्ब डलर बराबरका कारोबारले राष्ट्रिय सुरक्षा र अवैध वित्तीय गतिविधिसम्बन्धी जोखिम बढाएको मन्त्रालयको भनाइ छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ठूलो वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण नियन्त्रण र प्रतिबन्धसम्बन्धी कानूनी दायित्व पूरा गर्न नसक्दा त्यसको असर सम्बन्धित बैंकमा मात्र सीमित नहुने बताउनुभएको छ। यसले समग्र अमेरिकी वित्तीय प्रणालीलाई अवैध वित्तीय कारोबारको जोखिममा पार्न सक्ने उहाँको भनाइलाई बीबीसीले उल्लेख गरेको छ।
अमेरिकी अर्थ मन्त्रालयका अनुसार बैंकले आफ्नै आन्तरिक नियन्त्रण प्रणालीमार्फत शङ्कास्पद गतिविधि पहिचान र निगरानी गर्नुपर्ने जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न सकेको थिएन। बरु, कानून कार्यान्वयन गर्ने निकाय तथा अन्य वित्तीय संस्थाबाट प्राप्त हुने सूचना र सोधपुछमा अत्यधिक निर्भर रहेको मन्त्रालयको आरोप छ।
यता, बैंक अफ अमेरिकाले नियामक निकायहरूले उठाएका विषय सम्बोधन गर्न आवश्यक सुधारका काममा उल्लेखनीय प्रगति गरेको जनाएको छ। बैंकले आफ्ना प्रणाली तथा प्रक्रियालाई थप प्रभावकारी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेको छ।
यो घटनाले विश्वकै प्रमुख वित्तीय बजारमध्ये एक अमेरिकामा समेत ठूला बैंकहरूको कारोबार निगरानी, सम्पत्ति शुद्धीकरण नियन्त्रण र वित्तीय पारदर्शितासम्बन्धी व्यवस्थाको प्रभावकारितामाथि प्रश्न उठाएको छ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।