काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको झन्डै पाँच घण्टापछि रिहा भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कमेडियन हिमेश पन्तको उजुरीका आधारमा उनलाई शनिबार बिहान घरबाटै पक्राउ गरिएको थियो।
साइबर ब्युरोमा दुवै पक्षबीच छलफल भएपछि सहमति जुटेसँगै श्रेष्ठ रिहा भएका हुन्। समाचारको विषयलाई लिएर उत्पन्न विवाद प्रेस काउन्सिल नेपालमार्फत निरूपण गर्ने सहमति भएको बताइएको छ।
नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालका अनुसार छलफलमा पन्त समाचारसम्बन्धी विषय लिएर प्रेस काउन्सिल जाने र श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा थप सामग्री पोस्ट नगर्ने सहमति भएको छ।
रिहाइपछि पत्रकार श्रेष्ठले समाचार लेखेकै विषयमा पत्रकारलाई पक्राउ गर्ने र सञ्चार उपकरण जफत गर्ने कार्यबारे प्रश्न उठाएका छन्। उनले आफ्नो पक्राउको सन्दर्भमा पत्रकारितासम्बन्धी कानुनी व्यवस्था र सर्वोच्च अदालतले यसअघि दिएका आदेशको पालना हुनुपर्ने बताएका छन्।
पन्त परिवारले अर्काको जग्गा हडपेको आरोपसम्बन्धी समाचार जनआस्था अनलाइनमा प्रकाशित भएपछि विवाद सुरु भएको थियो। उक्त समाचारलाई लिएर पन्त साइबर ब्युरो पुगेका थिए। श्रेष्ठले पनि आफूविरुद्ध सामाजिक सञ्जालमा लगातार पोस्ट गरिएको भन्दै प्रतिउजुरी दिएको विवरण छ।
दुवै पक्षबीच सहमति जुटेपछि तत्कालका लागि विवादले निकास पाएको छ। समाचारको सत्यता र त्यससम्बन्धी विवादको निरूपण भने प्रेस काउन्सिलमा हुने प्रक्रियामा निर्भर रहनेछ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।