काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास लिने घोषणा गरेका छन्। उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो फुटबल यात्रा टुङ्ग्याउने निर्णय सार्वजनिक गरेका हुन्।
बुटवलबाट सुरु भएको फुटबल यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुगेको स्मरण गर्दै विमलले देशका लागि मनैदेखि खेलेको र फुटबलमा आफ्नो सबैथोक दिएको बताएका छन्।
“बुटवलबाट सुरु भएको मेरो फुटबल यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा निकै लामो र कठिन रह्यो। मैले देशका लागि मनैदेखि खेलेँ र आफ्नो सबैथोक फुटबललाई नै दिएँ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
खेलजीवन टुङ्ग्याउने निर्णय लिँदा आफू भावुक भएको उल्लेख गर्दै उनले आफ्नो यात्रामा साथ, माया र हौसला दिने सबैप्रति आभार व्यक्त गरेका छन्।
“आज यो निर्णय लिँदा म धेरै नै भावुक भएको छु। सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले फुटबलको यात्रा यहीँसम्म टुङ्ग्याएको छु,” उनले लेखेका छन्।
विमलले सन् २०१२ मा बङ्गलादेशविरुद्ध खेल्दै नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। उपलब्ध विवरणअनुसार उनले राष्ट्रिय टोलीबाट ४४ खेल खेल्दै नौ गोल गरेका छन्।
नेपाली फुटबलमा उनले विभिन्न उमेर समूह तथा राष्ट्रिय टोलीबाट महत्त्वपूर्ण प्रतियोगिताहरूमा सहभागिता जनाएका थिए। सन् २०१५ मा यू–१९ साफ च्याम्पियनसिप, सन् २०१६ मा बङ्गबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कपको उपाधि जित्ने नेपाली टोलीमा उनी सहभागी थिए। दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने नेपाली टोलीसँग पनि उनको नाम जोडिएको छ।
घरेलु फुटबलमा मच्छिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेका विमलले नेदरल्यान्ड्समा युवा फुटबल खेल्ने अवसरसमेत पाएका थिए।
बुटवलबाट सुरु भएको उनको फुटबल यात्राले उनलाई राष्ट्रिय टोलीसम्म पुर्यायो। देशको जर्सी लगाएर मैदानमा उत्रिएका विमलको सन्न्यास घोषणासँगै उनको सक्रिय खेलाडी जीवनको एउटा अध्याय समाप्त भएको छ।
उनको यो निर्णयसँगै नेपाली फुटबलप्रेमीले राष्ट्रिय टोलीका लागि उनले दिएको योगदानलाई सम्झिरहेका छन्।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।