काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले उनका श्रीमान् थोमसले पनि पशुपतिनाथ मन्दिरभित्र प्रवेश नपाएको स्पष्ट पारेकी छन्।
पशुपतिनाथ मन्दिर प्रवेशको विषयलाई लिएर एक हिन्दु–मुस्लिम जोडी पक्राउ परेपछि आशिकाका श्रीमान् थोमसलाई भने मन्दिरभित्र प्रवेश दिइएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो।
सर्वसाधारण र पहुँचवालाका लागि फरक–फरक नियम लागू गरिएको भन्दै प्रश्न उठेपछि तामाङले स्पष्टीकरण दिएकी हुन्।
तामाङका अनुसार गैरहिन्दु भएकै कारण थोमसलाई पनि पशुपतिनाथ मन्दिरभित्र प्रवेशको अनुमति थिएन। उनी मन्दिरको ढोकासम्म मात्रै पुगेको र आफू मात्रै मन्दिरभित्र प्रवेश गरेको उनले बताइन्।
‘थोमस पशुपतिनाथको ढोकासम्म मात्रै पुग्नुभएको हो। भित्र छिर्ने अनुमति थिएन,’ उनले भनिन्।
तामाङले भारतकी कांग्रेस नेतृ सोनिया गान्धी नेपाल आउँदा पनि गैरहिन्दु भएकै कारण पशुपतिनाथमा प्रवेश नपाएको आफूले सुरक्षाकर्मीबाट जानकारी पाएको उल्लेख गरिन्।
उनले धर्मका आफ्नै नियम हुने भन्दै त्यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताइन्।
‘आफ्नो आफ्नो धर्मको नियम हुन्छ, संविधानका विधानजस्तै धर्मका पनि विधान हुन्छन्, जसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भनिन्।
तामाङका अनुसार मन्दिरका पुजारीले आफूलाई माला, खादा र टीका दिएर थोमसका लागि समेत छुट्टै प्रसाद दिएका थिए। आफू मन्दिरबाट बाहिर आएपछि थोमसलाई माला र टीका लगाइदिएको उनले बताइन्।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।