धनगढी । अनेरास्ववियु र अखिल क्रान्तिकारीमा आबद्ध रहेर विद्यार्थी राजनीति गरेका चार जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
रास्वपामा प्रवेश गर्नेमा लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति तपेन्द्र प्याकुरेल, कैलाली बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति यमराज जोशी, पवन सुनार र विष्णा बोहरा रहेका छन् ।
प्याकुरेल २०८२ सालमा अखिल क्रान्तिकारीका तर्फबाट लम्की बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा निर्वाचित भएका थिए । त्यस्तै, जोशी २०७९ सालको स्ववियु निर्वाचनमा अनेरास्ववियुका तर्फबाट कैलाली बहुमुखी क्याम्पसको सभापतिमा निर्वाचित भएका थिए । उनले दुईवर्षे कार्यकाल पूरा गरेका थिए ।
सुनार अखिल क्रान्तिकारीमा आबद्ध रहेर विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनी २०७९ र २०८२ सालमा कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापति पदका उम्मेदवार बनेका थिए । उनी जेन्जी रेडफोर्सका सुदूरपश्चिम संयोजकसमेत थिए। बोहरा पनि अखिल क्रान्तिकारीमा आबद्ध थिइन् ।
उनीहरूलाई धनगढीस्थित रास्वपाको सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराइएको । कार्यक्रममा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य खेमराज कोइराला, क्षेत्र नम्बर २ बाट निर्वाचित केपी खनाल र रास्वपा सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशीले उनीहरूलाई स्वागत गरेका थिए ।
विद्यार्थी संगठनमा रहेर विभिन्न समयमा नेतृत्व गरेका चार जनाको पार्टी प्रवेशलाई सुदूरपश्चिममा रास्वपाको संगठन विस्तारसँग जोडेर हेरिएको छ ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।