काठमाडौं । बलिङमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गरेको छ। सोमबार अल अमेरत ग्राउन्ड टर्फ–१ मा भएको खेलमा जित निकालेसँगै नेपालले लिग–२ को अंकतालिकामा छैटौँ स्थान पक्का गरेको हो।
नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।
ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। पहिलो विकेट ३२ रनमा गुमाएको ओमानका लागि यी दुई ब्याटरले दोस्रो विकेटका लागि १५८ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।
ओमान १९० रनमा दोस्रो विकेट गुमाएपछि खेलमा नेपालको दबाब बढेको थियो। त्यसपछि नियमित अन्तरालमा विकेट लिँदै नेपालले खेलमा पुनरागमन गर्यो। कप्तान विनायक शुक्ला आउट हुँदा ओमान २२४ रनमा पाँच विकेटको अवस्थामा पुगेको थियो। सन्जु सजिव रनआउट भएपछि ओमानको स्कोर २३२ रनमा ६ विकेट भएको थियो।
त्यसपछि हस्नैन शाहले आक्रामक ब्याटिङ गर्दै ओमानलाई जितको आशा दिलाए। उनी २३ बलमा ४० रन बनाएर अविजित रहे पनि टोलीलाई लक्ष्यसम्म पुर्याउन सकेनन्।
अन्तिम ओभरमा ओमानलाई जितका लागि २३ रन आवश्यक थियो। बलिङमा आएका दीपेन्द्रसिंह ऐरीले दबाबका बीच उत्कृष्ट प्रदर्शन गरे। पहिलो बलमा दुई रन दिएका उनले त्यसपछि लगातार दुई चौका बेहोरे। तर, त्यसपछिका बलमा ओमानले आवश्यक रन जोड्न सकेन। अन्तिम दुई बलमा एक रनसमेत नजुटेपछि नेपालले रोमाञ्चक जित हात पार्यो।
दीपेन्द्रले १० ओभरमा ६० रन खर्चेर दुई विकेट लिए। ललित राजवंशीले आठ ओभरमा ५३ रन दिँदै दुई विकेट लिए भने सन्दीप लामिछाने र नन्दन यादवले एक–एक विकेट हात पारे।
रोहित, दीपेन्द्र र देवको अर्धशतक
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २८० रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले ८०, दीपेन्द्रसिंह ऐरीले ६९ र देव खनालले ५७ रन बनाए।
ओपनिङ गरेका देवले ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रन जोडे। रोहितले ८१ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ८० रन बनाए। दीपेन्द्रले ६२ बलमा तीन चौका र चार छक्कासहित ६९ रनको योगदान दिए।
नेपालले ९९ रनमा तीन विकेट गुमाएपछि रोहित र दीपेन्द्रले चौथो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए। उनीहरूको साझेदारीले नेपाललाई बलियो स्कोरतर्फ अघि बढाए पनि त्यसपछि लगातार विकेट गुमाउँदा टोलीको फिनिसिङ अपेक्षाअनुसार हुन सकेन। अन्तिमतिर बसिर अहमदले सात बलमा १७ रन जोड्दै टोलीको स्कोर २८० पुर्याउन सहयोग गरे।
ओमानका शाह फैसलले आठ ओभरमा ५७ रन खर्चेर पाँच विकेट लिए। जय ओडेराले तीन तथा समय श्रीवास्तवले दुई विकेट लिए।
जितसँगै अंकतालिकामा छैटौँ स्थान
लिग–२ को शीर्ष छभित्र रहन नेपाललाई ओमानविरुद्धको खेल जित्नैपर्ने दबाब थियो। सुरुवाती दुई खेलमा क्यानडा र ओमानलाई हराएको नेपाल त्यसपछि क्यानडासँग पराजित भएको थियो।
नेपालसँगको जितपछि क्यानडा ३६ खेलमा २९ अंकसहित छैटौँ स्थानमा उक्लिएको थियो भने ३५ खेलमा २८ अंक रहेको नेपाल सातौँ स्थानमा झरेको थियो। ओमानलाई पराजित गरेपछि नेपालले ३६ खेलमा ३० अंक पुर्याउँदै छैटौँ स्थानमा पुनरागमन गरेको हो।
लिग–२ को शीर्ष छमा रहने टोलीले विश्वकप छनोटको आगामी प्रक्रियामा महत्त्वपूर्ण अवसर पाउने भएकाले नेपालको यो जितलाई अर्थपूर्ण रूपमा हेरिएको छ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।