काठमाडौं । स्ट्रिमर तथा र्यापर मनिष पाण्डे ‘झापालिस’ले आफूलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे असन्तुष्टि जनाउँदै प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश पठाएका छन्।
झापालिसले प्रधानमन्त्री शाहलाई पठाएको भनिएको सन्देशको स्क्रिनसट आफ्नो इन्स्टाग्राम स्टोरीमा सार्वजनिक गरेका हुन्। सन्देशमा उनले र्यापर भिटेन पक्राउ पर्दाको प्रसंग स्मरण गराउँदै अपशब्द प्रयोग गरेकै आधारमा आफूलाई नियन्त्रणमा लिनु उचित नभएको बताएका छन्।
उनले सन्देशमा लेखेका छन्, “ओ बालेन दाइ के हो? मुख छाडेको भरमा त्यसरी हुल्नु त भएन नि।”
भिटेनलाई र्याप गीतमा अपशब्द प्रयोग गरेको विषयमा प्रहरीले कारबाही गर्दा शाहले ‘फ्री भिटेन’ भन्दै अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै झापालिसले अहिलेको व्यवहारप्रति प्रश्न उठाएका छन्। उनले यस विषयमा गृहमन्त्री सुधन गुरुङलाई पनि सम्झाइदिन आग्रह गरेका छन्।
किन नियन्त्रणमा लिइएका थिए झापालिस?
जिल्ला प्रहरी कार्यालय झापाले सामाजिक सञ्जालका भिडियोमा अश्लील तथा आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै परेको गुनासोका आधारमा पाण्डेलाई असोज २६ गते नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
प्रहरीका अनुसार सोधपुछपछि उनलाई सोही राति छाडिएको थियो।
नागरिक न्युजका अनुसार पाण्डेले आगामी दिनमा सामाजिक सञ्जालमा अश्लील शब्द प्रयोग नगर्ने प्रतिबद्धता जनाएपछि उनलाई आफन्तको जिम्मा लगाइएको थियो।
पछि आफ्नो लाइभ स्ट्रिमिङमा उनले प्रहरीले हतकडी लगाएर हिरासतमा राखेको र पछि छाडेको बताएका थिए। अपशब्द प्रयोग गरेकै कारण आफूलाई नियन्त्रणमा लिइएको भन्दै उनले आपत्ति जनाउँदै आएका छन्।
झापालिस युट्युबसहित विभिन्न सामाजिक सञ्जालमा लाइभ स्ट्रिमिङ गर्ने कन्टेन्ट क्रिएटर हुन्। उनी र्याप गीतका कारण पनि चर्चित छन्। लामो समय अमेरिका बसेका उनी पछिल्लो समय झापाबाटै सामग्री उत्पादन तथा स्ट्रिमिङ गर्दै आएका छन्।
यस घटनाले सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक अभिव्यक्तिको मर्यादा र प्रहरीको कारबाहीबीचको सीमाबारे बहस उठाएको छ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।