काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको बहुप्रतीक्षित फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको छ। ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरले काजीको जीवनमा आउने नयाँ मोड, वैवाहिक सम्बन्धमा उत्पन्न हुने जटिलता र विपीन कार्कीको प्रवेशसँगै कथामा सिर्जना हुने द्वन्द्वलाई रोचक ढंगले प्रस्तुत गरेको छ।
ट्रेलरमा बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा ‘शान्ति होटल’ खोलेर नयाँ व्यवसाय सुरु गरेको देखिन्छ। तर, उनीहरूको नयाँ सुरुवातसँगै कथा सामान्य व्यावसायिक यात्रामा मात्र सीमित रहँदैन। सृजना गुरुङले निर्वाह गरेको नयाँ मैयासँग काजीको विवाह भएको दृश्यले उनको व्यक्तिगत जीवनमा आएको परिवर्तनलाई उजागर गर्छ।
काजीको वैवाहिक जीवन कता मोडिन्छ? पुरानो सम्बन्धको छाया नयाँ जीवनमा पनि पर्छ कि पर्दैन? ट्रेलरले यस्ता प्रश्नको जवाफ खुलस्त नदिई दर्शकमाझ कौतूहल बढाएको छ।
त्यस्तै, गाउँमा विपीन कार्कीले निर्वाह गरेको रैथाने गुन्डा समूहको प्रवेशले कथामा थप द्वन्द्व र हास्य मिसाएको छ। काजीको टोली र उक्त समूहबीचको टकरावले फिल्मको कथालाई थप रोचक बनाउने संकेत गर्छ। ट्रेलरको अन्त्यतिर काजी र मैया एउटै गाडीमा कतै गइरहेको दृश्यले उनीहरूको सम्बन्ध र आगामी घटनाक्रमबारे थप जिज्ञासा पैदा गर्छ।
यसअघि सार्वजनिक टिजरले पनि काजीको जीवनमा आउने नयाँ मोड, बीकेको प्रविधिप्रतिको रमाइलो लगाव र विपीन कार्कीको भूमिकालाई लिएर दर्शकमाझ उत्सुकता बढाएको थियो। टिजरमा देखिएकी अभिनेत्री मिरुना मगरको भूमिकाबारे दर्शकले चासो राखेका थिए। सार्वजनिक ट्रेलरमा मिरुनालाई पनि देखाइएको छ, जसले फिल्मको कथामा थप रहस्य र अप्रत्याशित मोड हुन सक्ने संकेत गर्छ।
‘कबड्डी’ शृङ्खलाका अघिल्ला चार फिल्मले बक्स अफिसमा सफलता हासिल गरेपछि पाँचौँ भागप्रति दर्शकको अपेक्षा पनि उच्च छ। ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ।
फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सृजना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय छ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ।
फिल्मका मुख्य सहायक निर्देशक सोमनाथ खनाल र तारानाथ न्यौपाने हुन्। नेपालमा ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले वितरण गर्ने फिल्मको अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज इन्टरनेसनलले लिएको छ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।