काठमाडौँ । वर्षभरि परिवारबाट टाढा रहेर अध्ययन, रोजगारी र व्यवसायमा व्यस्त रहेका नेपालीहरू दसैँ मनाउन घर फर्किन थालेपछि काठमाडौँ उपत्यकामा यात्रुको चाप बढेको छ।
दसैँ नजिकिएसँगै नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खु, माछापोखरी र गौशालालगायतका क्षेत्रमा गाउँ फर्किने यात्रुको चहलपहल बढेको हो। बसपार्कमा देखिने भीडसँगै धेरैका मनमा परिवारसँग भेट्ने, टीका लगाउने र आफ्ना प्रियजनसँग खुसी साट्ने उत्साह छ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार उपत्यकाका विभिन्न बसपार्क तथा बाहिरिने नाकाहरूमा यात्रुको चाप बढेको छ। ट्राफिक प्रहरीले यात्रुको आवागमन सहज बनाउन व्यवस्थापन गरिरहेको छ।
कार्यालयका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म चार लाखभन्दा बढी यात्रुले काठमाडौँ उपत्यका छाडिसकेका छन्। फर्पिङ, नागढुङ्गा, थानकोट, साँखु, जगाती तथा अन्य नाकाबाट यात्रुहरू आफ्नो गन्तव्यतर्फ गइरहेका छन्।
दसैँका बेला घर फर्किनेहरू सबैका लागि यात्रा केवल एक ठाउँबाट अर्को ठाउँ पुग्नु मात्र होइन। कसैका लागि आमाबुबाको हातबाट टीका थाप्ने अवसर हो, कसैका लागि छोराछोरीलाई लामो समयपछि अँगालोमा बेर्ने खुसी। त कसैका लागि वर्षौँपछि परिवारसँगै बसेर चाड मनाउने दुर्लभ समय।
तर, रोजगारी र अध्ययनका कारण घर जान नपाउनेहरूका लागि भने दसैँको यो समय परिवारको सम्झना र दूरीको अनुभूति पनि बन्न सक्छ।
यात्रुको चाप बढेसँगै यातायात व्यवसायीले बस व्यवस्थापनमा जोड दिएका छन्। यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर सुरक्षित यात्रा गर्न आग्रह गरिएको छ।
दसैँको वास्तविक खुसी महँगो उपहारमा होइन, आफ्ना मान्छेसँग बिताएको समय र परिवारसँगको भेटमा लुकेको हुन्छ। यही खुसी बोकेर हजारौँ नेपाली अहिले आफ्नो गाउँ, घर र परिवारतर्फ फर्किरहेका छन्।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।