काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित जवाफ पठाउँदै सुनारले आफ्नो संलग्नता नरहेको दाबी गरेका हुन् ।
एक महिलासँग आपत्तिजनक अभिव्यक्ति र धम्कीपूर्ण भाषा प्रयोग गरिएको भनिएको अडियो सार्वजनिक भएपछि सुनार विवादमा तानिएका थिए । उक्त अडियो सोमबार जनआस्था साप्ताहिकले सार्वजनिक गरेको थियो । घटनालाई लिएर आलोचना बढेपछि रास्वपाले प्रकरणको सत्यतथ्य पत्ता लगाउन अनुशासन आयोगलाई छानबिन अघि बढाउन निर्देशन दिएको थियो ।
आयोगले यसअघि सुनारलाई घटनाबारे लिखित प्रतिक्रिया दिन पत्र पठाएको थियो । तोकिएको समयभित्र जवाफ प्राप्त भएको र त्यसमा उनले आरोप अस्वीकार गरेको आयोगका एक सदस्यले रातोपाटीलाई जानकारी दिएका छन् ।
आयोगका अनुसार सुनारले आरोप स्वीकार नगरेको र पीडित पक्षबाट औपचारिक उजुरीसमेत नआएको अवस्थामा पनि घटनाको स्वतन्त्र छानबिन अघि बढाइनेछ ।
अडियोको स्रोत र प्रमाण जुटाउँदै आयोग
आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार प्रकरणको पहिलो चरणअन्तर्गत सांसद सुनारको लिखित प्रतिक्रिया लिने काम सकिएको छ । अब अडियोको वास्तविक स्रोत पहिचान गर्ने, उपलब्ध प्रमाण सङ्कलन गर्ने र आवश्यक कागजात प्राप्त गर्ने प्रक्रियालाई अघि बढाइएको छ ।
भट्टराईले घटनाको संवेदनशीलता र गम्भीरतालाई ध्यानमा राख्दै विस्तृत अनुसन्धान सुरु गरिएको बताए । उनका अनुसार आवश्यक परे अडियोको प्रामाणिकता परीक्षण गर्न विशेषज्ञको रायसमेत लिइनेछ ।
यसका लागि अडियो सार्वजनिक गर्ने जनआस्था साप्ताहिकसँग भिडियो, अडियो तथा अन्य सम्बन्धित कागजात उपलब्ध गराउन अनुरोध गर्ने निर्णय आयोगले गरेको छ ।
विशेष छानबिन समितिलाई अनुसन्धानको जिम्मेवारी
विवादको निष्पक्ष र वस्तुनिष्ठ छानबिन गर्न आयोगले छुट्टै विशेष छानबिन समिति गठन गरेको छ । आयोगका उपप्रमुख भट्टराईकै संयोजकत्वमा गठित समितिमा आयोगका सदस्यहरू रहनेछन् ।
बिहीबार बसेको आयोगको बैठकले समिति गठन गर्ने निर्णय गरेको भट्टराईले जानकारी दिए । समितिले अनुसन्धानका बाँकी काम पूरा गरी आफ्नो रायसहितको प्रतिवेदन केन्द्रीय अनुशासन आयोगसमक्ष पेस गर्ने जिम्मेवारी पाएको छ ।
सार्वजनिक अडियोको वास्तविकता, त्यसको स्रोत र सांसद सुनारमाथि उठेका प्रश्नबारे प्रमाणका आधारमा निष्कर्ष निकालिने आयोगको भनाइ छ ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।