काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी न्यूनीकरण र नागरिकको जीवनस्तर सुधारलाई देशको समृद्धिसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । उनले उत्पादन वृद्धि, पर्याप्त आम्दानी हुने रोजगारी र नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने नीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले राजनीतिक तथा नीतिगत बहस जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने दिशामा केन्द्रित हुनुपर्ने बताए ।
‘हाम्रो मुख्य उद्देश्य जनताको जीवनस्तर माथि उठाउनु, गरिबी हटाउनु र विपन्नतालाई समृद्धिमा रूपान्तरण गर्नु हो,’ उनले भने ।
ओलीका अनुसार देशको आर्थिक अवस्था सुधार्न आम्दानीका नयाँ स्रोत सिर्जना गर्नु, उत्पादन बढाउनु र परिवारका आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर उपलब्ध गराउनु आवश्यक छ । उनले रोजगारीको वास्तविक मूल्य काममा बिताएको समयभन्दा त्यसबाट प्राप्त हुने आम्दानीले निर्धारण गर्ने धारणा पनि राखे ।
‘काम मात्र होइन, पर्याप्त आम्दानी हुने रोजगारी आवश्यक छ’
नागरिकलाई आर्थिक रूपमा सुरक्षित बनाउन पर्याप्त आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्ने उल्लेख गर्दै ओलीले कुनै एउटा वर्ग, समुदाय, पेसा वा क्षेत्रको हितमा मात्र सीमित नभई समग्र नेपाली समाजको उत्थानलाई लक्ष्य बनाउनुपर्ने बताए ।
उनले गरिबी उन्मूलनलाई नारामा मात्र सीमित राख्न नहुने भन्दै विपन्नतालाई दिगो समृद्धिमा बदल्न स्पष्ट नीति र उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको धारणा राखे ।
आफ्नो राजनीतिक तथा सामाजिक मान्यताको मूल आधार मानवतावाद भएको उल्लेख गर्दै ओलीले नागरिकका आधारभूत आवश्यकता पूरा गर्न सक्ने अवस्था निर्माण गर्नु राज्यको दायित्व भएको बताए । प्रत्येक नागरिकले खान, लाउन र बस्न पाउनुका साथै शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच हासिल गर्न सक्ने व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो ।
समानता र न्यायमा आधारित नीति निर्माणमा जोड
ओलीले जात, वर्ग वा समुदायका आधारमा विभेद नगरी सबै नागरिकलाई समान प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताए । सत्य, न्याय र समानताको मार्गबाट मात्रै समाजको समग्र कल्याण र समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो ।
उनले प्रत्येक नागरिकका लागि गाँस, बास र कपाससँगै गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने लक्ष्यका साथ नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।
ओलीको भनाइमा समृद्धिको लक्ष्य हासिल गर्न उत्पादन वृद्धि, दिगो रोजगारी, पर्याप्त आम्दानी र नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्ने विषयलाई राज्यका नीति तथा कार्यक्रमको केन्द्रमा राख्न आवश्यक छ ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।