काठमाडौं । नेपाली उद्यमीलाई लगानी जुटाउने अवसर प्रदान गर्दै आएको रियालिटी शो ‘शार्क ट्यांक नेपाल’को दोस्रो सिजनमा ६० करोड १२ लाख रुपैयाँ बराबरको लगानी सम्झौता भएको आयोजकले जनाएको छ ।
दोस्रो सिजनको छायांकन पूरा भइसकेको छ । दशैंलगत्तै प्रसारण सुरु गर्ने तयारी भए पनि कार्यक्रमको प्रसारण मिति भने तय भइसकेको छैन । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुने कार्यक्रम १० सातासम्म चल्नेछ । प्रत्येक साता राति ८ बजे एक घण्टाका दुई एपिसोड प्रसारण गर्ने तयारी छ ।
यस सिजनमा ६० देखि ६५ जना उद्यमीले आफ्ना व्यावसायिक योजना प्रस्तुत गरेका छन् । आयोजकका अनुसार पहिलो सिजनको तुलनामा यसपटक सहभागी व्यवसायको आकार ६० देखि ६५ प्रतिशतले बढेको छ ।
दोस्रो सिजनमा पनि पहिलो सिजनका पाँचै जना शार्क—हेमराज ढकाल, आनन्द बगरिया, ऋतुसिंह वैद्य, सौरभ ज्योति र क्याबिनेट श्रेष्ठ—सहभागी छन् । उनीहरूले विभिन्न क्षेत्रका उद्यमीका व्यावसायिक प्रस्तावको मूल्यांकन गर्दै लगानीसम्बन्धी निर्णय गरेका छन् ।
आयोजकका अनुसार यसपटक प्रविधि, खाद्य तथा पेय पदार्थ र कृषि क्षेत्रमा आधारित व्यवसायप्रति उद्यमीको आकर्षण देखिएको छ । केही व्यवसायमा अन्तर्राष्ट्रिय बजारमा विस्तारको सम्भावना रहेको पनि शार्कहरूले बताएका छन् ।
पहिलो सिजनको तुलनामा दोस्रो सिजनमा व्यवसायिक प्रस्ताव अझ परिपक्व र व्यावसायिक रूपमा प्रमाणित रहेको आयोजकको दाबी छ । कार्यक्रमले साना सहरका उद्यमीलाई समेत आफ्नो व्यवसाय विस्तार गर्न र लगानीकर्तासमक्ष प्रस्ताव प्रस्तुत गर्ने अवसर प्रदान गरेको जनाइएको छ ।
६० करोड १२ लाख रुपैयाँको लगानी सम्झौतासहित आउन लागेको दोस्रो सिजनले नेपाली स्टार्टअप र उद्यमशीलताको क्षेत्रमा थप चासो बढाउने अपेक्षा गरिएको छ ।







0 कमेन्ट
पहिले लगइन वा दर्ता गर्नुहोस्
Administrator ले Registered-only comment mode सक्रिय गर्नुभएको छ।